Monday, December 7, 2015

भारतीय नेताहरुसँग कुरा भयो, नाकाबन्दी छिट्टै हट्छः प्रचण्ड


Prachand, Naya Sambhidan (10)
२१ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भारतले लगाएको नाकाबन्दी छिट्टै हट्ने दाबी गरेका छन् ।
जनताको संविधान, जनताको माझमा भन्ने अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-भर्खरै मात्र मेरो केही भारतीय नेताहरुसँग पनि कुरा भयो । नाकाबन्दी छिट्टै हट्छ ।’ आफ्नो अधिकार प्रयोग गर्दा नाकाबन्दी भोग्नुपर्ला भन्ने कहिल्यै नलागेको उनले बताए ।
तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उनले जायज माग पूरा हुने र नाजायज मागको भण्डाफोर गर्ने बताए । उनले भने, नाकाबन्दी र देशलाई विखण्डन गर्ने भाव र प्रवृत्ति नेपालीले स्वीकार गर्न सक्दैन ।’
तराई मधेसका जायज मागलाई सम्बोधन गर्न आजैबाट संविधान संशोधन प्रक्रिया अघि बढाइने र सीमांकनसम्वन्धि राजनीतिक सहमतिबाट टुंग्याउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।
उनले अहिले देशैभर पैदा भएको राष्ट्रिय जागरणलाई मजबुत पार्दै राष्ट्रिय एकतामा बदल्नु पर्नेमा जोड दिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले भारत र चीनसँग मित्रवत सम्वन्ध चाहेको भन्दै अहिले देखिएको समस्या छिट्टै समाधान हुने बताए । उनले भने-हामीले मित्रहरुसँग कसैसँग दुस्मनी गर्न चाहेका छैनौं । भौगोलिक अवस्था लगायत धेरै कारणले मित्रता चाएका छौं । हाम्रो विकासमा सहयोगको अपेक्षा गरेका छौं ।’
नयाँ संविधान जनताको संविधान भएको भन्दै उनले मधेसका जनतालाई विगतको संविधानसँग तुलना गरेर हेर्न आग्रह गरे । समानुपातिक समावेशीका दृष्टिले नयाँ संविधान प्रगतिशील भएको भन्दै उनले दक्षिण एसियामा तुलना गर्न नसकिने र विश्वमै विरलै पाइने बताए ।
यद्यपि यो पूर्ण भने नभएको उनले बताए । जनता पक्षधरलाई पनि केही छुट्यो कि भन्ने परेको भन्दै उनले केही भने भ्रम रहेको बताए ।

No comments:

Post a Comment